किशोर मित्रसँग कुराकानी गर्न आएको छु

कुराकानी शिक्षण सिकाइको एउटा प्रभावकारी माध्यम हो । कुराकानीको सम्बन्ध भाषा सिकाइसँग मात्र छैन, कल्पनाशीलताको विकास र सोचाइको विस्तारसँग पनि छ । साथै यसको महत्वपूर्ण पक्ष भनेको कक्षामा शिक्षकसँगको र घरमा आफ्ना परिवारका सदस्यसँग सामिप्यता बढाउन पनि कुराकानी एउटा महत्वपूर्ण माध्यम हो । 

त्यसैले म आज तिमीसँग कुराकानीबारे आफ्नो एउटा संस्मरण सुनाउन आएको छु । कुराकानी अभिव्यक्तिको माध्यम हो । यसबाट तिमीले आफ्नो मनको कुरा भन्न र अरुको मनको कुरा सुन्न सक्छौ । यति मात्र होइन यसले तिम्रो आत्मविश्वास बढाउँछ र समाजमा आफ्नो कुरा राख्न र अरुको कुरा सुन्न पनि प्रेरित गर्दछ । 

आफ्नो विचार भन्ने र अरुको विचार सुन्ने बानीले तिमीलाई सबैसँग घुलमिल हुन र मित्रता गर्न मद्धत मिल्दछ । मित्रताले जीवनको स्वस्थ प्रतिस्पर्धा वा भनौं संघर्षका लागि तयार गर्दछ । धैर्यवान् हुन पनि सिकाउछ । 

यसरी अरुको कुरा सुन्दै आफ्नो कुरा भन्दै जाने बानीले विस्तारैविस्तारै आफ्ना मनका कुरा लेख्न र अरुका कुरा साहित्य पढ्न पनि रुचि जगाउँछ । जसले गर्दा सिकाइको क्षितिज फराकिलो हुँदै जान्छ । अनि सोचाइको दायरा बढ्दै जान्छ र अन्ततः ज्ञानको दायरा पनि बढ्छ । जसको सीधा प्रभाव तिम्रो व्यक्तित्वमा पर्दछ । तिमी अरुको दुःखमा सह्रदयी हुने, मिलनसार र मिहिनेती बन्नेछौ । यी गुणले तिमीलाई जीवनभरि असल, सफल र सुखी मान्छे बन्न सघाइरहने छन् । 

म सम्झन्छु, कक्षा ९ मा पढ्दाको समयका मेरा अत्यन्त प्रिय गुरुको सुमधुर सम्झना । उनी कक्षामा धेरै कुराकानी गर्थे । उनको आधा कक्षा त कुराकानीमै सकिन्थ्यो । तर पनि हाम्रा लागि उनी प्रिय गुरु थिए । हामी उनीसँग भावनात्मक रुपमा गाँसिएका थियौँ । उनले पढाएका पाठको उत्तर मजाले लेख्न सक्थ्यौँ । तिनै मेरा गुरुले एकदिन मलाई भनेका कुरा आज मलाई एउटा किशोरको गुनासोले सम्झायो ।

प्रिय किशोर मित्र तिम्रो जवाफ आज म आफ्नै जीवनको घट्नाको स्मरणबाट दिँदैछु । विश्वास छ यसले तिमी र मबिच कुराकानी गर्ने थप विषयहरु उद्घाटित हुनेछन् । 

त्यो दिन म विद्यालयको चौरमा एक्लै उभिएको थिएँ । अलि पर पाँच जना साथीहरु समूहमा बसेर बात मार्दै खाँदै थिए । कताबाट हो, अचानक गुरु मेरो नजिक आए । 

“के भयो ? के सोचिरहेका छौ कार्तिकेय ?” गुरुले अकस्मात् प्रश्न गरे । 

“केही होइन गुरु !” मैले कुराकानीलाई टार्ने कोसिस गर्दै भनेँ । 

“लौ बस आज सँगै चौरमा बसेर खाजा खाऔँ ।” गुरुले मायालु स्वरमा भने । 

म अप्ठ्यारो मान्दै चौरमा बसेँ ।  

“कार्तिकेय मैले बुझेको छु तिमी किन साथीहरुको समूहमा हेरेर टोलाएका छौ ।” गुरुले कुराकनी सुरु गर्दै भने । 

“त्यस्तो केही होइन गुरु ! आज मेरो साथी नआएर म एक्लै भएको मात्र हुँ ।” मैले गाह्रो मान्दै भनेँ । 

“हेर कार्तिकेय आज म तिमीलाई एउटा कुरा भन्छु । तर यो कसैको लागि गाली होइन । सबैका लागि ताली हो र हुनसक्छ । तिम्रा लागि पनि यो कुराकानीको नयाँ विषय हुनसक्छ !” गुरुले कुराकानी सुरु गर्दै भने । 

“त्यस्तो कुरा के भएको छ र गुरु ?” मैले जिज्ञासा राख्दै सोधेँ ।

“कार्तिकेय ! अहिले स्कुल जीवनमा मात्र होइन, तिमी बाँचुन्जेल तिमीलाई टाढा राख्न चाहने यस्ता ससाना समूह बन्दै जानेछन् । तर, त्यो बेला जहिले तिमीले सम्झनु, तिमीले पनि तिनीहरुलाई सम्झेर हेरेर आजको जसरी नै समय खेर फाल्ने होइन । आफूलाई सिर्जनशील काममा व्यस्त राखिरहनु । आफ्नो लक्ष्य प्राप्तिका लागि परिश्रम गरिरहनु पर्छ । जस्तै : आजकै दिन अहिलेको समयमा पनि तिमीले ती साना कक्षाका भाइबहिनीलाई खाजा बाँड्न मिसहरुलाई सहयोग गर्न सक्छौ । अरुलाई सहयोग गरेर समय विताउनु पनि सिर्जनशीलता हो । खासगरी तिमी अहिले भएको जस्तो तनावको अवस्थामा त यो झन राम्रो काम हो …” गुरुले मलाई ढाप मार्दै  यस्तैयस्तै धेरै कुरा भने । 

“के तपाईंलाई पनि आफू पढ्ने स्कुलमा यस्तो महसुस हुन्थ्यो गुरु ?” मैले उत्सुक हुँदै प्रश्न गरेँ । किनकि कुराकानी गर्दागर्दै उनीसँगको मेरो सामिप्यता गाढा भइसकेको थियो । 

“अवश्य, म पनि त्यो दिन देखेर भोगेर आएको मान्छे हुँ । त्यहाँ मिठो खाजा खुवाउन सक्ने एउटा साथी भएजस्तै कुनै न कुनै स्वार्थले बनेको समूहले तिमीलाई जीवनका आगामी दिनमा पनि यसरी नै विचलित बनाउन कोसिस गर्नेछन् । तर त्यो दिन तिमीले आज हामीबिच भएको कुराकानीलाई समझनु ।” गुरुले मुसुक्क हाँस्दै भने । म पनि मुसुक्क मुस्कुराएँ । 

प्रिय किशोर मित्र !

तिमीलाई नढाँटी भनूँ, तिमीले आज स्कुलमा भोगेको जस्तै मैले पनि भोगेर आएको हुँ । आज मैले काम गर्ने क्षेत्रमा, भोलि तिमीले काम गर्ने क्षेत्रमा पनि तिमीमाथि यसरी नै पिडा दिने कार्य हुनेछ, गरिने छ । तर यसबाट तिमी आफ्नो लक्ष्यमा कहिल्यै विचलित नहुनु । सम्झनु कुनै समूहमा तिमी अटाउन नसक्नु भनेको तिमी उनीहरुभन्दा खास छौ । उनीहरुभन्दा महत्वपूर्ण छौ । जसले तिमीलाई उनीहरुभन्दा अग्लो फरक विशेषताको बनाउने छ । तर यति याद गर्नू आफ्नो कर्म आफैँलाई नढाँटी, आफैँलाई नछली लगनशील भएर गर्नु । आफ्नो पहिलो प्राथमिकताको कर्तव्य दृढतापूर्वक निर्वाह गर्नु । आफ्नो लक्ष्य प्राप्तिका लागि इमान्दार कोसिस गर्नू । तिमी विद्यार्थी हौ दत्तचित्त भएर आफ्नो अध्ययन क्षमतालाई बलियो बनाएर ज्ञान लिनु । यो नै तिम्रो पहिलो प्राथमिकताको कर्तव्य हो । म लेखक हुँ । लेखनका नयाँनयाँ आयामहरुसँग परिचित हुन पढिरहनु र केही नयाँ लेखिरहन कोसिस गरिरहनु मेरो पहिलो प्राथमिकताको कर्तव्य हो । यो कुरा कहिल्यै नबिर्सौँ मित्र, त्यो समूहभन्दा बाहिर ठुलो संसार तिम्रो क्षमताको कदर गर्न कुरेर बसिरहेको छ ।

यति गर्न सक्यौ भने तिमीले त्यो समूहमै मिसिएर नै केही सिक्नुपर्छ भन्ने पनि हुँदैन । त्यो भिडभन्दा बाहिर रहेर नै तिम्रो अलग्गै परिचय बन्नेछ । अनि अझ महत्वपूर्ण कुरा तिमीले आत्महत्यासम्बन्धी कुरा कल्पनामा पनि सोच्ने छैनौ । जीवनको महत्व आफैँ बुझ्दै जानेछौ । जीवनको सुन्दरता तिमी माझमा उद्घाटित हुँदै जानेछन् । अनि तिमीलाई आफ्नो जिन्दगी निकै प्यारो लाग्न थाल्नेछ । 

हस् त धन्यवाद । जय नेपाल ।

जय किशोर प्रतिभा ।

Related posts

Leave a Comment