अंग्रेजी भाषा सुधार गर्न चाहने बालबालिकाका लागि राम्रो बालकथाको किताब

पुस्तक समीक्षा

नेपाली परिवेशमा लेखिएका कथाहरुको अंग्रेजी सस्करण पढ्न पाउनु अंग्रेजी भाषा सुधार गर्न चाहने र अंग्रेजीमै नेपाली परिवेशको केही विचार व्यक्त गर्न चाहने बालबालिकाका लागि राम्रो मौका हो । फेरि नेपालबाट अंग्रेजीमा निस्किएका किताबमा भाषामा समस्या हुने गरेको कुरा बालसाहित्य प्रतिष्ठान नेपालको वेलायती मित्र सुसाना अल्डेडले कथावाचन कार्यक्रममा स्वयंसेवा गर्नेक्रममा बताएकी थिइन् ।

वास्तवमा यस्ता धेरै शुभचिन्तक विदेशी सम्पादकसँग भेटघाट र अन्तरक्रिया गरी नेपालमा एक सिद्धहस्त अनुवादक र सम्पादकका रुपमा परिचय बनाउनुभएका महेश पौड्यालले अनुवाद गर्नुभएका यी किताब बालबालिकाकालाई अत्यन्त उपयोगी रहेका छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा यी किताब भित्र के विषयवस्तु छन् र कसले लेखेको हो भन्ने कुरा पनि हो । ‘मिउ सेज दि लिटिल किट्टी’ आदरणीय लेखक रमेश विकलको अंग्रेजी भाषामा प्रकाशित पहिलो बालकथासंग्रह हो । उहाँका सुन्दर ५ कथाहरु यस कृतिमा रंगीन साजसज्जामा पढ्न पाइने छ ।

आदरणीय लेखक विकलसँग महिनौँ भेटघाट गरेर उहाँका बालसाहित्यका पाण्डुलिपिको खोजी गरी उहाँले माया गर्नुभएका अनुज पुस्ताका लेखक कार्तिकेयको सम्पादनमा बालसाहित्य प्रतिष्ठान नेपालबाट नेपाली भाषामा प्रकाशित ‘रमेश विकलका उत्कृष्ट बालकथाहरु’ कृतिबाट यी ५ बालकथाहरु साभार गरिएका हुन् । यी आदरणीय लेखक रमेश विकलका प्रिय बालकथाहरु हुन् । सुन्दर चित्रहरु रश्मी अमात्य र देव महर्जनले बनाउनुभएको छ । मूल्य रु १ सय ९५ रहेको ६० पृष्ठको यो किताब स्तरीय कागजमा रंगीन छपाइ गरिएको छ ।

अर्को किताब ‘विड्स आफ ज्वाय’ मा नेपाल र भारतका २३ जना लेखकका रमाइला र सन्देशमूलक कथाहरु रहेका छन् । तपाईं हामीले माया गरेका नेपाली लेखकहरु गीता केशरी, रन्जुश्री पराजुली, वसुश्री पाण्डे, जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेती, गंगा कर्माचार्य पौडेल, महेश पौड्याल, कार्तिकेय, भगवती पौडेल, सुशीला देउजा, विन्दु सुवेदी, इल्या भट्टराई, उन्नती बोहरा शीला, ललिता दोषी, आइ पी अधिकारी, रमा अधिकारी, सुभद्रा गौतम, शर्मिला घिमिरे, स्नेह पोखरेल र कोमल पोखरेलका कथाहरु यस संग्रहमा समावेश छन् ।

भारतीय लेखकहरु मदन हजेरी, दयानन्द असोल्कर र मानसी हजेरीका कथाहरु यस संग्रहमा छन् । पल्पसा मानन्धरका सुन्दर चित्रहरुले किताब सजिएको छ । मूल्य रु २ सय ५५ रहेको यो किताब १ सय ५६ पृष्ठको छ ।

यी किताबहरु किन्नुपरेमा प्रतिष्ठानको फोन नं. ९८०१०७७५१५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Related posts

Leave a Comment